कुष्ठरोगको जटिलता र हाम्रो समाज 

 शिवमन्दिरका ती अनगिन्ती खुड्किलाहरु अनि  हजारौंका भिडमा  पनि हराउन नसकेका केही व्यक्तिहरुमा मेरा आँखा  एकाएक अडिन्छन् । पेशाले म चिकित्सक, त्यसैले पनि होला, मानिसका शरीरका स्वास्थ्य अंगहरुमा भन्दा अस्वस्थ अंगहरुमा आँखाहरु रोकिन पुग्छन् । लस्करै बसेका मुहारहरुमा धेरै असमानता भए तापनि उनीहरूमा केही कुराको समानता भने पक्कै थियो। केहिका हातका औलाहरु साना,झरेका जस्ता थिए भने केहीका खुट्टाका औंलाहरु झरेका जस्ता थिए । कसैका हातका औंलाहरु सबै झरी सकेका थिए भने कसैका खुट्टाका औंलाहरु बाँकी थिएनन् ।  कसैका नाक भिन्न थिए भने कसैका आँखीभौ बाँकी नै थिएनन् ।  उहाँहरु मध्ये कतिले कालो चस्मा, काठको लट्ठी र एउटा थाल  आफैसँग राखेका थिए । यी दृश्यहरू थुप्रै धार्मिक तीर्थस्थलहरुमा देख्न सकिन्छ ।  यस्ता जटिलताहरु थुप्रै रोगले निम्त्याउन सक्ने भएपनि मलाई भने मुख्यतः कुष्ठरोगका जटिलता तर्फ सोच्न बाध्य बनाउँछन् ​। 

विश्वका विभिन्न देशहरुमा कुष्ठरोग उन्मूलन  भइसकेका छन् भने ब्राजिल,भारत र इन्डोनेसिया जस्ता एसियाली एवं अफ्रिकी देशहरूमा कुष्ठरोगका बिरामीहरू  मुख्यतः भेटिन्छन् ।विश्वमा वर्षेनी लगभग दुई लाख व्यक्तिहरुमा कुष्ठरोग ​देखिने कुरा विभिन्न तथ्यांकहरुले पुष्टि गर्दछ।कुष्ठरोगका विरामीहरु भेटिने एसियाली मुलुक मध्ये नेपालमा पनि वर्षमा लगभग तीन हजार  नयाँ विरामीहरु फेला पर्ने आङ्कलन छ ।यद्यपि कोरोना सङ्क्रमणका कारण गत तीन वर्षहरुमा यो संख्या भन्दा थोरै विरामीहरु देखिए तापनि आउने वर्षहरुमा कुष्ठरोगका विरामीहरु नबढ्लान्  भन्न सकिने स्थिति छैन। 

 कुष्ठरोग एक संक्रमक रोग हो​। कुष्ठरोग Mycobacterium leprae भन्ने  किटाणु(ब्याक्टेरिया) को संक्रमणले हुने गर्दछ।   यो ब्याक्टेरिया एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा नाक र मुखबाट निस्किने पदार्थहरु (खोक्दा, थुक्दा, हाछिउ गर्दा)बाट सर्ने गर्दछ।  संक्रमण हुन लामो समयसम्म संक्रमित व्यक्तिसँग नजिक रहेको हुनु पर्दछ र त्यस्ता व्यक्तिहरूमा ब्याक्टेरियाको मात्रा धेरै भएको खण्डमा छालामा देखिएका फुस्रो छोएको थाहा नहुने दाग बाट पनि अन्य व्यक्तिमा सर्न सक्ने सम्भावना हुन्छ।   कुष्ठरोगले मुख्यतः छाला,नसा, माथिल्लो श्वास नली र आँखामा असर गर्दछ।  

छालामा फुस्रो छोएको थाहा नहुने दाग वा रातो दाग/धब्बा देखिनु, छाला छोएको थाहा नहुनु, शरीरका विभिन्न भागमा डल्लो गिर्खा आउनु,आखिभौ हराउनु,शरीर हातगोडाहरु छोएको थाहा नहुनुर कमजोर हुनु नसा दुख्नु झमझम गर्नु वा मोटो हुनु,नाक बन्द हुनु वा नाकबाट रगत आउनु,आँखाको हेर्ने शक्तिमा कमी आउनु जस्ता विभिन्न लक्षणहरू कुष्ठरोगका हुन सक्छन्। यस्ता लक्षणहरु देखिएमा नजिकैको स्वास्थ्य चौकीमा गएर उपचार गर्नु पर्दछ।  चिकित्सकले बिरामीको छाला,नसा,मासु,आँखा एवं सम्पूर्ण शरीर जाँच गरी  Mycobacterium leprae किटाणु भएको पुष्टि भएमा औषधि-उपचार सुरु गरेमा यो रोग निको हुने गर्दछ। धेरै जस्तो परिवारमा नै यो रोग देखिने भएकाले अन्य परिवारजनमा  यी  लक्षणहरु भए-नभएको आवश्यक जाँचका लागि चिकित्सकले सल्लाह दिने गर्दछन्।   उपचार सुरु भएको केही समयमा नै कुष्ठरोग संक्रमित व्यक्तिले अरूलाई कुष्ठरोग सार्न सक्दैनन्।

उपचारमा ढिलाई गरिएमा यसले थुप्रै जटिलताहरु निम्त्याउने गर्दछ।   हातगोडाका छालाले छोएको थाहा नभई घाउ चोटपटक लागेर हातगोडा डुडो हुने,नसाको जटिलताका कारण हात-गोडाका मासुहरु सुक्दै जाने र अति कमजोर हुने,नसाको दुखाई, आँखामा समस्या भई आँखाको शक्तिमा ह्रास आउने,शरीरमा विभिन्न भागहरुमा डल्लाहरु आएर ज्वरो आइ सिकिस्त बनाउने जस्ता अनेकौं  जटिलताहरु सामना गर्नुपर्ने हुनसक्छ।  

नेपालमा कुष्ठरोगको जनचेतना धेरै नै न्यून रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्।  यद्यपि कुष्ठरोगको बारेमा जानकारी भएका व्यक्तिहरु पनि उपचारमा ढिलाइ गर्ने गरेको पाइन्छ।   अघिल्लो जन्ममा थुप्रै पापहरु गरेका कारणले गर्दा यो जन्ममा सजाय स्वरुप कुष्ठरोग लाग्ने गर्दछ भन्ने विभिन्न धार्मिक  ग्रन्थहरुमा उल्लेख गरिएको कारणले गर्दा अझै पनि नेपाली मानसिकतामा कुष्ठरोग एक संक्रमण रोग नभैकन पछिल्लो जन्मको पापको रुपमा चित्रित छ ।   अझै पनि नेपालका थुप्रै जिल्लामा कुष्ठरोगीहरुले आफ्नै घर परिवारबाट पनि हेला र तिरस्कार सहनु पर्ने बाध्यता, समाजले हेर्ने दृष्टिकोणमा क्षुद्रता एवं उपचारका क्रममा  छालामा देखिने परिवर्तनले गर्दा  हजारौ व्यक्तिहरु उपचारबाट टाढा हुने गर्दछन्।   उपचार समयमा नभएको खण्डमा देखिने जटिलताका कारण र घर परिवार समाजमा स्थान नपाइएका कारण हजारौ  व्यक्तिहरु विचलित भएका छन् । जिविकोपार्जनको लागि उचित सीप र तालिम नभएका एवं  राज्यले दिने सेवा सुविधाको बारेमा थाहा नभएकाले धेरै व्यक्तिहरु भौतारिएका छन् ।  

सायद यो मन्दिरको खुड्किलाहरुमा एकजनामा पनि  कुष्ठरोग नभएको हुन सक्छ ।  सायद  केही व्यक्तिहरुमा कुष्ठरोग कै जटिलताले यस्तो भएको पनि हुनसक्छ।  कहिकतै जनचेतनाको अभाव,रोगको प्रकृति, समाजको सोच, राज्यको कमजोरी वा हाम्रो हेर्ने दृष्टिकोण-मैले छोटा ती औलाहरु,नभरिएका घाउहरु, कमजोर आँखाहरू, लुला हातखुट्टाहरू,असह्य पिडाहरु र लाचार जिन्दगीमा देख्ने गर्दछु।  

अन्तत: कुष्ठरोग एउटा रोग हो, यो पूर्व जन्मको पाप होइन ।  

-Dr. Yagya Prasad Timalsina